महोत्तरी–४ बाट प्रतिनिधि सभा प्रत्यक्षमा नेकपा अध्यक्ष प्रचण्डको एकल सिफारिस

tejnewskhabar.com

महोत्तरी, ०९ पुस — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्यक्ष तर्फ एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ।

नेकपाको क्षेत्रीय कार्यालय, महोत्तरी क्षेत्र नं. ४ रामगोपालपुरमा सम्पन्न क्षेत्रीय कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थिति, जनअपेक्षा तथा संगठनात्मक अवस्थाको मूल्याङ्कन गर्दै प्रचण्डलाई प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचनमार्फत उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ अध्यक्ष प्रचण्डसँगै मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहको पनि नाम सिफारिस गरेको भए पनि अध्यक्ष प्रचण्डको नामलाई प्रमुख र एकल सिफारिसका रूपमा अगाडि बढाइएको जनाइएको छ।

त्यसैगरी बैठकले प्रतिनिधि सभा समानुपातिक तथा राष्ट्रिय सभातर्फ पनि विभिन्न समुदाय र वर्गको समावेशी प्रतिनिधित्व हुने गरी उम्मेदवारहरू सिफारिस गरेको छ। समानुपातिकतर्फ दलित, मुस्लिम, महिला, अल्पसंख्यक तथा मधेसी खस आर्य समुदायका नेताहरूलाई समेटिएको छ भने राष्ट्रिय सभातर्फ खुल्ला, दलित, अल्पसंख्यक र मुस्लिम कोटाबाट उम्मेदवार सिफारिस गरिएको छ।

क्षेत्रीय कमिटीले सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको र निर्णयको प्रमाण (निर्णयको पाना) सिफारिस पत्रसँग संलग्न गरिएको जनाएको छ। उक्त पत्र नेकपा केन्द्रीय कार्यालय, कोटेश्वर पेरिसडाँडा काठमाडौं तथा नेकपा मधेश प्रदेश पार्टी कार्यालय जनकपुरलाई बोधार्थ पठाइएको छ।

प्रतिक्रिया