काठमाडौं १३ गते । नेपाली कांग्रेसले पार्टी अनुशासन कडाइका साथ लागू गर्ने निर्णय गर्दै विगतमा पार्टी निर्णयविपरीत गतिविधि गरेका नेता–कार्यकर्तालाई सुधारको अवसर दिने नीति अवलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पुस १३ गते बसेको बैठकले हालको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्र एकता कायम गर्न र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न अनुशासन उल्लङ्घन गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। पार्टी हितविपरीत कार्य नगर्न सबै तहका नेता तथा कार्यकर्तालाई सचेत गराइएको छ।
अनुशासन उल्लङ्घनकर्तालाई माफीको व्यवस्था
विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक बन्ने वा असहयोग गर्ने व्यक्तिहरूलाई केन्द्रिय अनुशासन समितिले गरेको कारबाही अनुसार बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय बैठकले गरेको छ। तर माफी पाएका व्यक्तिहरूलाई पार्टीको पदमा नरहने व्यवस्था गर्दै उनीहरूको क्रियाशील सदस्यता भने निरन्तर रहने र नवीकरण गर्न पाइने निर्णय गरिएको छ।
पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
बैठकले विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएका नेता–कार्यकर्तालाई पुनः नेपाली कांग्रेसमा फर्कन औपचारिक आह्वान गरेको छ। फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरिएको छ।
बौद्धिक तथा व्यवसायिक क्षेत्रसँग सहकार्य
नेपाली कांग्रेसले देशको समग्र विकास, लोकतन्त्र र समाजमुखी राजनीतिका लागि बौद्धिक, व्यवसायिक तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूसँग विशेष संवाद र सहकार्य गर्ने निर्णय पनि गरेको छ। राष्ट्र र जनताको सेवामा समर्पित व्यक्तिहरूलाई पार्टीको सक्रिय भूमिकामा ल्याउने उद्देश्य राखिएको पार्टीले जनाएको छ।
पार्टीले यी सबै निर्णयहरू तत्काल कार्यान्वयन गर्न प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका सबै संगठनलाई निर्देशन दिएको छ।