राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार टुंगिए

tejnewskhabar.com

काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनसम्बन्धी निर्णय अनुमोदन गरेको हो।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार पुस २९ गते हुने निर्वाचनका लागि कांग्रेस केन्द्रीय संसदीय समितिले सिफारिस गरेका उम्मेदवारहरूलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।

निर्णयअनुसार कोशी प्रदेशबाट सुनीलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण उम्मेदवार बनेका छन्। यस्तै बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट वासुदेव जंगली र चन्द्रबहादुर के.सी., कर्णालीबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार चयन भएका छन्।

बैठकमा पार्टीका महामन्त्री, सहमहामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो। कांग्रेसले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै महिला, दलित, आदिवासी/जनजाति तथा अन्य समूहबाट उम्मेदवारी सुनिश्चित गरेको जनाएको छ।

पार्टीले राष्ट्रियसभामा आफ्नो प्रभावकारी उपस्थिति रहने विश्वाससमेत व्यक्त गरेको छ।



प्रतिक्रिया