जनकपुर, १८ गते । मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री कृष्णप्रसाद यादव ज्युले मधेश प्रदेशका आठ वटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई बोलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र छरितो रूपमा हुने व्यवस्था मिलाउन कडा निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अस्पतालको सेवा प्रवाह, औषधि उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।
बैठकमा मुख्यमन्त्रीले जनताको गुनासो, उपचारमा देखिएका समस्या र सेवाको गुणस्तर सुधारका उपायबारे छलफल गर्दै परिणाममुखी काम गर्न सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो। प्रदेश सरकार जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।