काठमाडौँ, पुस २४ गते — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेट गरी औपचारिक रूपमा राजीनामापत्र बुझाउनुभएको हो।
राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको छोटो अवधिमा तीनवटै महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकोमा घिसिङप्रति धन्यवाद र प्रशंसा व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले भन्नुभयो, “अत्यन्तै प्रतिकूल अवस्थामा सरकारमा सामेल भएर तपाईंले देशका लागि उल्लेखनीय योगदान दिनुभयो। रातदिन नभनी काम गर्नुभयो, विपद्का बेला अग्रपंक्तिमा उभिनुभयो र विकास निर्माणका बेथितिविरुद्ध कठोर निर्णय लिनुभयो। यसलाई देशले सम्झिनेछ।”
प्रधानमन्त्री कार्कीले घिसिङको आगामी राजनीतिक जीवन अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्मानस्वरूप खादा पनि पहिराइदिनुभयो। उहाँले थप भन्नुभयो, “तपाईं कुनै स्वार्थले होइन, देशका लागि सेवा गर्ने भावनाका साथ सरकारमा आउनुभएको हो। जेनजी युवासमेतको चाहनाअनुसार हामीले नै तपाईंलाई निम्त्याएका थियौँ। कुनै सुविधा नलिई निःस्वार्थ रूपमा काम गर्नुभएको छ। आउँदा दिनमा तपाईंले अझ ठूलो भूमिकामा देशको सेवा गर्नुहुनेछ भन्ने विश्वास छ।”
राजीनामा पछि मन्त्री घिसिङले पनि अन्तरिम कालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो।