मधेस प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि ३० हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना

tejnewskhabar.com

 मधेस प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

मधेस प्रदेशका ८ जिल्लामा रहेका ३२ वटा निर्वाचन क्षेत्रका लागि आजदेखि निर्वाचन प्रहरी भर्नाको प्रक्रिया सुरु गरिएको हो। आठै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अनुसार योग्य नेपाली नागरिकहरूले आजदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको सम्बन्धित गणमा पुगेर आवेदन दिन सक्नेछन्।

जिल्लागत रूपमा हेर्दा धनुषामा सबैभन्दा बढी ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। यस्तै, सप्तरीमा ४ हजार २२२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२, सर्लाहीमा ३ हजार ९२६, रौतहटमा ३ हजार ८५१, सिरहामा ३ हजार ७५७ र पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।

मधेस प्रदेशका सबै जिल्लाको सीमा भारतसँग जोडिएकाले अधिकांश मतदानस्थलहरू अति संवेदनशील मानिँदै आएका छन्। त्यसलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया