अदालतको फैसला कार्यान्वयनमा मकवानपुर प्रहरी सक्रिय, ५ जना फरार प्रतिवादी पक्राउ

tejnewskhabar.com

हेटौंडा १४ गते पुस। जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा जिल्ला अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत प्रहरी टोलीले खोजतलासका क्रममा आज पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालत हेटौंडा तथा सम्बन्धित अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सवारी ज्यान मुद्दा, रिसको आवेगबाट कुटपिट, लागू औषध मुद्दा तथा चेक अनादरसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। उनीहरूमाथि अदालतले विभिन्न अवधिको कैद सजाय तथा हजारौँ रुपैयाँ जरिवाना तोकेको थियो।

सवारी ज्यान मुद्दाका प्रतिवादीलाई ३० हजार रुपैयाँ जरिवाना, लागू औषध मुद्दाका प्रतिवादीलाई १० हजार रुपैयाँ जरिवाना, चेक अनादरका मुद्दामा संलग्न प्रतिवादीहरूलाई ५ हजारदेखि ६ हजार रुपैयाँसम्म जरिवाना तथा कुटपिट मुद्दामा १ वर्ष २६ दिन कैद र २०० रुपैयाँ जरिवाना तोकिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतको फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।



प्रतिक्रिया