यातायात व्यवसायीहरूसँग जिल्ला प्रहरीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

tejnewskhabar.com

मकवानपुर, २२ पुस । मकवानपुर जिल्लामा रहेका यातायात व्यवसायीहरूसँग जिल्ला प्रहरी कार्यालय मकवानपुरले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०८२।०९।२२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा सवारी चालक गरी अन्दाजी ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहराज्यूले सडक सुरक्षा, ट्राफिक नियमको पालना, यात्रुहरूको सही अभिलेखीकरण तथा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु यातायात व्यवसायी र चालकहरूको प्रमुख जिम्मेवारी भएको विषयमा स्पष्ट पार्नुभएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित तथा मर्यादित यातायात सेवा प्रवाह, नियम उल्लङ्घन नगर्नुका साथै यात्रुहरूप्रति जिम्मेवार बन्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो । सहभागी व्यवसायी तथा चालकहरूले यातायात क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आफ्ना सुझावहरू समेत राखेका थिए ।

कार्यक्रमले प्रहरी र यातायात व्यवसायीबीच आपसी समन्वय मजबुत बनाउँदै सुरक्षित यातायात प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया