रौतहट, पुस ०५ — नेपाली कांग्रेस रौतहट जिल्ला क्षेत्र नं.–१ क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फ उम्मेदवारका रूपमा कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताको नाम समेत सिफारिस गरेको छ।
क्षेत्रीय समितिको हालै बसेको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं.–१ बाट योग्य, संगठनमा सक्रिय र पार्टी नीतिमा स्पष्ट धारणा राख्ने व्यक्तिका रूपमा गुप्ताको नाम पनि सिफारिस गरेको हो।
बैठकमा सहभागी नेताहरूले गुप्ताले लामो समयदेखि पार्टी संगठन निर्माण, प्रचारप्रसार र जनसम्पर्कमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै उनको नेतृत्व क्षमताको प्रशंसा गरेका थिए। विशेषगरी मधेस प्रदेशमा कांग्रेसको विचार र कार्यक्रम जनतासम्म पुर्याउन उनले खेलेको भूमिका उल्लेखनीय रहेको नेताहरूको भनाइ थियो।
क्षेत्रीय समितिका अनुसार गुप्ता युवा पुस्तामाझ लोकप्रिय हुनुका साथै स्थानीय मुद्दा, विकास र समावेशी राजनीतिक एजेन्डामा स्पष्ट दृष्टिकोण राख्ने नेता हुन्। उनको उम्मेदवारीले क्षेत्र नं.–१ मा कांग्रेसलाई थप मजबुत बनाउने विश्वास बैठकले व्यक्त गरेको छ।
अब क्षेत्रीय समितिबाट सिफारिस गरिएको नाम जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइनेछ। केन्द्रीय समितिले अन्तिम निर्णय गरेपछि औपचारिक उम्मेदवारी टुंगो लाग्नेछ।
स्थानीय राजनीतिक वृत्तमा नितिश कुमार गुप्ताको सिफारिसलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कांग्रेसभित्र संगठनात्मक अनुभव र प्रचारप्रसारमा दक्ष नेताका रूपमा चिनिएका गुप्ताको नाम सिफारिस भएपछि रौतहट क्षेत्र नं.–१ को राजनीतिक माहोल थप सक्रिय बनेको छ।