रौतहट–१ मा उम्मेदवारीविरुद्ध उजुरी, भ्रष्टाचार मुद्दा लागेका भन्दै उम्मेदवारी खारेजको माग

tejnewskhabar.com

रौतहट जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका एक उम्मेदवारविरुद्ध औपचारिक उजुरी दर्ता गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय, गौरमा बुझाइएको उजुरीमा श्री माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्य पदका लागि दिएको उम्मेदवारी कानून विपरीत भएको दाबी गरिएको छ।

उजुरी अनुसार श्री माधव कुमार नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा मुछिएको उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा सरकारी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उजुरीमा उल्लेख गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ का प्रावधानअनुसार भ्रष्टाचार मुद्दा दर्ता भई अदालतमा विचाराधीन रहेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको दाबी गर्दै उजुरीकर्ताले उम्मेदवारी खारेज गर्न माग गरेका छन्।

उक्त उजुरी प्रतिनिधि सभा सदस्य उम्मेदवार रामनरेश राय यादवले दर्ता गराएका हुन्। अब यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले कानुनअनुसार आवश्यक छानबिन तथा निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया