मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी २०८२ सम्पन्न

tejnewskhabar.com

जनकपुर ३० गते । नेपाल सरकार, गृह मन्त्रालय तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

पुस ३० गते जनकपुरधामस्थित यात्री निवास होटलमा आयोजित गोष्ठी माननीय गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यता, मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवको विशेष आतिथ्यता तथा गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा शुभारम्भ भएको थियो।

मधेश प्रदेशमा शान्ति–सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने तथा आसन्न निर्वाचनलाई निर्धारित समयमै निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीमा मधेश प्रदेशका माननीय गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो, मधेश प्रदेश सरकारका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराई, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग के.सी., नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेना मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जी.सी. लगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारी तथा मधेश प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

गोष्ठीका क्रममा प्रदेशको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन सुरक्षा रणनीति तथा सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गरिएको थियो।


प्रतिक्रिया