काठमाडौँ, पुस २२ — आज मिति २०८२।०९।२२ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्रीज्यूलाई केन्द्रले मुटु रोगको उपचारमा हासिल गरेका उल्लेखनीय उपलब्धि, पूर्वाधार विकास तथा सेवा विस्तारसम्बन्धी कार्यहरूबारे विस्तृत जानकारी गराइएको थियो। विशेषगरी राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा १ हजारभन्दा बढी उपकरणको मर्मत सम्पन्न गरिएको, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा कार्डियाक सर्जरी सेवाको विस्तार गरिएको तथा थप ३ वटा अत्याधुनिक अप्रेसन थिएटर निर्माण अन्तिम चरणमा पुगेको विषयले मन्त्रीज्यूलाई खुसी बनाएको छ।
केन्द्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ई–सेवामार्फत अनलाइन टिकट तथा ल्याब रिपोर्ट उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै बिरामी तथा कुरुवाका लागि नि:शुल्क भोजन, स्तनपान कक्ष, र ज्येष्ठ नागरिक सहायता कक्ष जस्ता मानवीय तथा सामाजिक सुविधाहरू थप गरिएको जानकारी पनि मन्त्रीज्यूलाई गराइएको थियो।
निरीक्षणपश्चात् माननीय मन्त्री डा. गौतमज्यूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पछिल्लो समय गरेका प्रगति र सुधारका प्रयासहरूको प्रशंसा गर्नुभयो। उहाँले केन्द्रको सेवालाई अझ गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र प्रतिबद्धता रहने स्पष्ट पार्नुभयो।