काठमाडौँ | कानुनविद्हरूले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति पूर्ण रूपमा वैधानिक र आधिकारिक भएको स्पष्ट पारेका छन्।
विशेष महाधिवेशन पक्षले बिहीबार पार्टीको अद्यावधिक विवरण निर्वाचन आयोगमा दर्ता गराएपछि कानुनी बहस चुलिएको थियो। सो सन्दर्भमा संविधान र पार्टी विधानका जानकार कानुनविद्हरूले कांग्रेस विधानअनुसार गगन थापा नेतृत्व नै मान्य हुने बताएका हुन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कांग्रेसको विधानले स्पष्ट रूपमा विशेष महाधिवेशनको व्यवस्था गरेको उल्लेख गर्दै मंसिरमै कार्यसमिति कार्यकाल समाप्त भइसकेको अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न सक्ने प्रावधान रहेको बताए। “यहाँ त ५४ प्रतिशत प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको छ, त्यसबाट निर्वाचित नेतृत्व स्वतः वैधानिक हुन्छ,” उनले भने।
घिमिरेका अनुसार विशेष महाधिवेशनले नेतृत्व चयनका लागि ध्वनिमतबाट कार्यविधि पारित गरी सभापति चयन गरेको प्रक्रिया पनि विधानसम्मत छ। उनले निर्वाचन आयोगले पनि विधान र प्रक्रिया हेरेर सोही आधारमा निर्णय गर्ने विश्वास व्यक्त गरे।
कांग्रेस विधानले महाधिवेशन कसले बोलायो भन्नेभन्दा पनि प्रतिनिधिको संख्यालाई मुख्य आधार मानेकाले वैधानिकताबारे कुनै भ्रम नरहेको कानुनविद्हरूको निष्कर्ष छ।