नेपालगञ्ज, बाँके २४ गते ।नेपाली कांग्रेस बाँकेले पार्टीको ऐतिहासिक रूपमा महत्वपूर्ण मोडमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताको आग्रह गरेको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको कार्यालय, सुशील कोइराला स्मृति भवन, नेपालगञ्जबाट जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०७७ (संशोधनसहित) अनुसार धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जानकारी गराइएको छ।
विज्ञप्तिमा पछिल्लो समय देखिएको वैचारिक अस्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिक चुनौतीहरूका सन्दर्भमा पार्टीले निर्णायक निर्णय लिनुपर्ने विशेष अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यस कारण विशेष महाधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको र जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय भूमिका आवश्यक रहेको जनाइएको छ।
नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गर्दै, यस्तो ऐतिहासिक घडीमा प्रतिनिधिहरूको सहभागिता केवल औपचारिकतामा सीमित नरही पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष जोडिएको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला कार्यसमिति बाँकेले सबै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ। साथै, सबैको साझा सहभागिताबाट मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।
विज्ञप्तिमा लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि प्रतिनिधिहरूको सक्रिय उपस्थितिका लागि अनुरोध गर्दै अन्त्यमा “जय नेपाल” भनिएको छ।