काठमाडौँ, पुस १४ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालबीच आज भेटवार्ता भएको छ।
सम्माननीय अध्यक्ष दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो।
भेटवार्ताका क्रममा राष्ट्रिय सभाको अधिवेशन आह्वान, सभाका लागि आवश्यक विधेयक तथा अन्य विजनेस, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वयलगायत विषयमा छलफल भएको बताइएको छ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्ने समय भइसकेको उल्लेख गर्दै सरकारको तयारीका विषयमा चासो व्यक्त गर्नुभएको थियो। साथै, सिंहदरबारस्थित कृषि समितिको हल मर्मत गरी राष्ट्रिय सभाको सभाकक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै बैठक सञ्चालनका लागि राष्ट्रिय सभा पूर्ण रूपमा तयार रहेको बताउनुभयो।
जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो। राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदा सरकारलाई विधायिकी काममा सहज हुने पनि उहाँको भनाइ थियो।
भेटवार्तामा पुस महिनाको अन्तिम साता राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने विषयमा दुवै पक्षबीच समझदारी भएको जनाइएको छ।
यसैगरी, अध्यक्ष दाहालले पूर्वसांसद मञ्चमा देखिएका तत्कालीन समस्या, संघीय संसद सचिवालयसँग सम्बन्धित विविध विषय तथा पछिल्लो सरकार गठनपछि रोक्का भएका विभिन्न आयोजनाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।