जनकपुर, २० गते । मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारीका विषयमा केन्द्रित एकदिने गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ। मिति २०८२/०९/२० गते नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौंको आयोजनामा मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधामको समन्वय तथा सेभ द चिल्ड्रेनको सहजीकरणमा उक्त गोष्ठी आयोजना गरिएको हो।
गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन ज्यु सहभागी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी शर्मा तिवारी ज्यु उपस्थित रहनुभएको थियो। साथै प्रदेश सभा सदस्यज्यूहरू, मन्त्रालयका सचिव तथा उपसचिवहरू, स्थानीय तहका नगर प्रमुख तथा उप–प्रमुखज्यूहरू, नीति आयोगका सदस्यज्यूहरू, उच्चस्तरीय विज्ञ कार्यदलका संयोजक तथा सदस्यहरू, कार्यालय प्रमुख, शिक्षा प्रमुखहरू तथा विभिन्न NGO/INGO का प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आवश्यक मापदण्ड, वर्तमान अवस्था, चुनौती तथा आगामी कार्ययोजनाबारे गहन छलफल गरिएको थियो। सहभागीहरूबीच अनुभव आदान–प्रदान गर्दै साक्षरता अभिवृद्धिका लागि प्रदेश, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइयो।
गोष्ठीले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्यतर्फ ठोस योजना निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको आयोजकहरूले बताएका छन्।