विशेष महाधिवेशनमा डर नमानी सहभागी हुन गोपालमान श्रेष्ठको आह्वान देउवामाथि तानाशाही प्रवृत्ति लाद्न खोजेको आरोप

tejnewskhabar.com

काठमाडौं २६ गते। नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर–त्रास नमानिकन सहभागी हुन आह्वान गरेका छन्।

विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका तथा पार्टी विभाजनको कठिन समयमा समेत साथ दिएका श्रेष्ठले अहिले भने देउवाले पार्टीभित्र तानाशाही प्रवृत्ति लाद्न खोजेको आरोप लगाएका छन्। उनले कसैको धम्की वा कारबाहीको डर नमानी विशेष महाधिवेशनमा निर्धक्क भएर सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन्।

विशेष महाधिवेशनका सन्दर्भमा बोल्दै श्रेष्ठले भने, “नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मेरो पूर्ण समर्थन र सहयोग छ। साथीभाइहरू कसैको डर, त्रास नमानिकन निर्धक्क भएर सहभागी हुनुस्।” उनले नेताहरूलाई कारबाही गर्ने धम्कीका कारण कार्यकर्ता डराउन नपर्ने पनि स्पष्ट पारे।

पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनलाई वैधानिक र विधिसम्मत प्रक्रिया भन्दै श्रेष्ठले विधानअनुसार अघि बढ्दा पार्टी फुट्ने कुनै कारण नरहेको बताए। “विधिवत् विधानअनुसार विशेष महाधिवेशन भएको हो भने किन पार्टी फुट्छ ?” उनले प्रश्न गर्दै भने, “विशेष महाधिवेशनमा बहुमतले कुनै प्रस्ताव पारित गर्छ भने सबैले मान्नैपर्छ। ५१ प्रतिशतले अनुमोदन गरेपछि त्यो वैधानिक हुन्छ।”

श्रेष्ठले विगतमा शेरबहादुर देउवालाई सहयोग गर्नु गल्ती भएको स्वीकारसमेत गरे। “विगतमा देउवालाई सहयोग गरियो, त्यो गल्ती भयो,” उनले भने, “आज पार्टीभित्र तानाशाही प्रवृत्ति देखिएको छ, यस्तो प्रवृत्ति लाद्न पाइँदैन।”

देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरी पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि त्यसले विशेष महाधिवेशनको वैधानिकता र आवश्यकता कमजोर नपार्ने श्रेष्ठको भनाइ छ। उनले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक अभ्यासमार्फत अघि बढाउन विशेष महाधिवेशन अपरिहार्य रहेको समेत बताएका छन्।



प्रतिक्रिया