पूर्वमन्त्री बृजेश कुमार गुप्ताद्वारा नेकपा (एमाले) परित्यागको घोषणा

tejnewskhabar.com

कपिलवस्तु, २२ पुस । पूर्वमन्त्री तथा चार पटक प्रतिनिधिसभा सदस्य निर्वाचित बृजेश कुमार गुप्ताले नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्नुभएको छ। पछिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका गुप्ताले आफू अब एमालेको सदस्य नरहेको स्पष्ट पार्नुभएको हो।

नागरिकसँग सोमबार फोन संवाद गर्दै गुप्ताले करिब दुई महिनाअघि आफ्नो बुवा स्वर्गीय भगवान दास गुप्ताको पुण्यतिथि अवसरमा आयोजित कार्यक्रममा नै पार्टी परित्यागको घोषणा गरिसकेको जानकारी दिनुभयो। उक्त कार्यक्रम कपिलवस्तुस्थित बाल मन्दिरमा सम्पन्न भएको थियो।

यद्यपि, गुप्ताले औपचारिक रूपमा पार्टीमा लिखित राजीनामा भने अहिलेसम्म नदिएको बताइएको छ। पार्टी छाडेको घोषणा गरिए पनि यसबारे कुनै लिखित वक्तव्य वा भिडियो सन्देश सार्वजनिक गरिएको छैन।

एक वर्षदेखि नै एमालेसँग दूरी बनाउँदै आउनुभएका गुप्ता पछिल्लो समय पार्टीका गतिविधिमा निष्क्रिय रहँदै आउनुभएको थियो। उहाँ एमालेको जिल्ला तथा केन्द्रीय अधिवेशनमा समेत सहभागी हुनुभएको थिएन।

गुप्ताको पार्टी परित्यागको घोषणाले कपिलवस्तुको राजनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ। आगामी दिनमा उहाँको राजनीतिक यात्राले कुन दिशा लिन्छ भन्ने विषयले थप महत्त्व पाउने देखिएको छ।



प्रतिक्रिया