निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा ३५ लाख तोकियो

tejnewskhabar.com

काठमाडौं १३ गते पुस— निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा ३५ लाख रुपैयाँ कायम गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका क्रममा उम्मेदवारहरूले तोकिएको सीमा ननाघ्ने गरी खर्च गर्नुपर्नेछ।

आयोगका अनुसार खर्च शीर्षकहरूमा मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, उद्घाटन/सभा, गोष्ठी–अन्तर्क्रिया, छापा तथा विद्युतीय माध्यममार्फत प्रचार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध खर्च समेटिएका छन्। यी सबै शीर्षकमा गरिएको खर्चको जम्मा योग ३५ लाख रुपैयाँभित्र सीमित हुनुपर्नेछ।

निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र खर्च गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसहित विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने स्पष्ट पारेको छ। साथै, निर्वाचन सम्पन्न भएपछि तोकिएको समयसीमाभित्र खर्च विवरण सार्वजनिक गरी पेश गर्न निर्देशन दिइएको छ।

आयोगले तोकिएको सीमा उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया