मकवानपुर १५ गते । मकवानपुर जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
मिति २०८२/०९/११ गतेदेखि २०८२/०९/१४ गतेसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौडा, विपद् व्यवस्थापन गुल्म हेटौडासहित मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।
प्रहरी टोलीले राक्सीराङ गाउँपालिका वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको गाँजा खेती करिब २१ बिगाहा र अफिम खेती करिब ९ बिगाहा गरी जम्मा ३० बिगाहा क्षेत्रफलमा फडानी गरी नष्ट गरेको जनाएको छ।
लागूऔषध नियन्त्रण तथा अवैध खेती अन्त्यका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।