दैनिक मजदुरीबाट एमबिबिएससम्मः सिरहाका सत्यनारायण साफीलाई युवा नेत्री शर्मिला थापाले गरिन् रु १ लाख ५ हजार सहयोग

tejnewskhabar.com

सिरहा, १४ गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँका सत्यनारायण साफीले कठिन संघर्षलाई सफलतामा रूपान्तरण गर्दै नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ। दैनिक ज्यालादारी मजदुरी गर्दै आफ्नो र परिवारको जीविका चलाउँदै आएका साफी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न सफल हुनुभएको हो।


आर्थिक अभाव, सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि अध्ययनप्रति देखाएको अठोट, निरन्तर मेहनत र अदम्य धैर्यले उहाँलाई चिकित्सक बन्ने मार्गमा डोर्‍याएको छ। संघर्षपूर्ण जीवनयात्राबाट प्राप्त यस उपलब्धिले समाजमा आशा, सम्भावना र सकारात्मक सन्देश प्रवाह गरेको छ।


उहाँको असाधारण सफलतालाई कदर गर्दै नेपाली कांग्रेस मधेशकी युवा नेत्री शर्मिला थापाले सत्यनारायण साफीलाई रु १ लाख ५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सहयोग प्रदान गर्दै थापाले साफीको साहस, समर्पण र निरन्तर संघर्षलाई सम्मान गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।


उक्त सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोद कुमार यादव, वडा अध्यक्ष राम खेलावन दास, देवप्रसाद यादव (प्राथमिक विद्यालय शिक्षक), स्थानीय युवा नेता सुमन कुमार यादव, जिल्ला खेलकुद विकास समिति सर्लाईको अध्यक्ष रोजित केसी , समाजसेवी युवा नेता नारायण गुरुमाछन  साथै स्थानीय बुद्धिजीवी, शिक्षक र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सत्यनारायण साफीको जीवनयात्राले स्पष्ट सन्देश दिन्छ—बलियो इच्छाशक्ति र दृढ संकल्प भए गरिबी, अभाव र कठिनाइले पनि लक्ष्यसम्म पुग्न रोक्न सक्दैन। उहाँको सफलता सिरहा जिल्लामै सीमित नभई सम्पूर्ण नेपालका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया