काठमाडौँ २७ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन हुनुअघि पक्षधरहरूले काठमाडौँमा जुलुस प्रदर्शन गर्ने भएका छन्। आज मध्यान्ह १२ बजे भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु गर्ने तयारी गरिएको छ।
उद्घाटन समारोहअघि महाधिवेशन आयोजक समितिको नेतृत्वमा जुलुस निकालिनेछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस सुरु भई भृकुटीमण्डपतर्फ अघि बढ्नेछ।
सबै रुटबाट बिहान ११ बजे एकसाथ जुलुस निस्कने तयारी गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ।
आजैबाट महाधिवेशनको बन्दसत्रसमेत सुरु गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।