काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको दोश्रो विशेष महाधिवेशनका अवसरमा शान्ति–सुरक्षाको आवश्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासनलाई औपचारिक रूपमा अनुरोध गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी पत्रअनुसार पार्टीको दोश्रो विशेष महाधिवेशन २०८२ पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ। महाधिवेशनका क्रममा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने भएकाले कार्यक्रम स्थल वरपर तथा काठमाडौँ उपत्यकाभित्र समग्र रूपमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।
पत्रमा महाधिवेशन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रशासनको सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ। उक्त पत्र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई सम्बोधन गरिएको हो।
नेपाली कांग्रेस सचिवालयको तर्फबाट हस्ताक्षरित पत्रमा कार्यक्रम अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षात्मक उपाय अपनाइदिन अनुरोध गर्दै अन्त्यमा “जय नेपाल” उल्लेख गरिएको छ।
महाधिवेशनलाई पार्टीको संगठनात्मक तथा नीतिगत दृष्टिले महत्वपूर्ण मानिएको छ।