सर्लाहीको लालबन्दीमा १३ बिग्हामा लगाइएको दुई लाख गाँजाका बोट फडानी, अवैध खेती नष्ट

tejnewskhabar.com

सर्लाही, २२ पुस । सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा अवैध रूपमा गरिएको गाँजा खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न गरिएको छ।

मिति २०८२/०९/२१ गते जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको करिब ४० जनाको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्बर १४ र १५ अन्तर्गत सिर कालिन्जोर, सिरु डाँडा, ब्लोन टोललगायत आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट गरेको हो।

प्रहरीका अनुसार करिब १३ बिग्हा क्षेत्रफलमा फैलिएको जग्गामा लगाइएको अनुमानित दुई लाख गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ। लागूऔषध नियन्त्रण तथा अवैध खेती अन्त्य गर्ने उद्देश्यले नियमित अनुगमनका क्रममा उक्त अवैध गाँजा खेती फेला परेपछि प्रहरी परिचालन गरी नष्ट गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागूऔषधजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसार विरुद्ध कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ। साथै, यस्ता गैरकानुनी गतिविधिबारे सूचना दिन स्थानीयवासीलाई आग्रह समेत गरिएको छ।

प्रतिक्रिया