उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा तमु ल्होसार २०८२ को शुभकामना, सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान

tejnewskhabar.com

काठमाडौँ१५ गते पुस । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसार २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले गुरुङ समुदायले पुस १५ गतेका दिन पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्पराले समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ। यस पर्वले सामुदायिक जीवनमा नयाँ ऊर्जा थप्दै परिवार, आफन्त र समुदायबीच आत्मीयता, भाइचारा, मेलमिलाप तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले कृषि चक्रसँग सम्बन्धित ल्होसार सूर्यको गतिसँग जोडिएको पर्व भएको उल्लेख गर्दै, यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सिर्जना हुने जनविश्वासले प्रकृति र मानव जीवनशैलीबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ। पूजापाठ, रैथाने परिकार, मौलिक नाचगान, रोधीघरमा दोहोरी गाउनेजस्ता सांस्कृतिक गतिविधिले सामुदायिक आस्था, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुग्ने उपराष्ट्रपति यादवको भनाइ छ।

शुभकामना सन्देशमा तमु ल्होसारले पुराना वर्षका कमजोरीलाई त्यागी नयाँ वर्षलाई उमंग, उत्साह र सकारात्मक सोचका साथ स्वागत गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै, सामाजिक एकता, परस्पर विश्वास, सहयोग, आदर, सम्मान र सद्भावलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई सुदृढ गर्ने प्रेरणा प्राप्त हुने बताउनुभएको छ।

अन्त्यमा उपराष्ट्रपति यादवले तमु ल्होसारको अवसरले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्धिको मार्गतर्फ अग्रसर हुन उत्प्रेरित गरोस् भन्ने कामनासहित पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया