चितवन १३ गते पुस । पर्यटकीय नगरी सौराहामा सञ्चालन हुँदै आएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज भव्य रूपमा समापन भएको छ। महोत्सवको अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई विशेष वनभोज खुवाएर कार्यक्रमको औपचारिक समापन गरिएको हो।
समापनका अवसरमा हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। वनभोजमा हात्तीलाई फलफूल, तरकारी, अन्नलगायत १५ परिकारका विविध खानेकुरा खुवाइएको आयोजकले जानकारी दिएको छ।
महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रमअन्तर्गत हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल, सांस्कृतिक कार्यक्रमलगायत विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएका थिए।
चितवनको पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति र जैविक विविधताको संरक्षणलाई प्रवाह दिने उद्देश्यले आयोजना गरिएको महोत्सवले सौराहा क्षेत्रको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पारेको आयोजकको भनाइ छ।