काठमाडौँ, १० गते पुस — नेपाल कम्युनिस्ट पार्टीका नेता एवं संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेशमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातले जनजीवन कष्टकर बनेको बताएका छन्।
प्रचण्डका अनुसार वर्तमान अवस्थाबाट समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता सबैभन्दा बढी प्रभावित भएका छन्। चिसोका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनले कुनै पनि मानवीय क्षति हुन नदिन तत्काल प्रभावकारी प्रतिकार्य आवश्यक रहेको उल्लेख गरे।
यसै सन्दर्भमा उनले संघ, प्रदेश र स्थानीय तहका तीनै तहका सरकारलाई प्रभावित जनतालाई शीघ्र सहयोग पुर्याउन अपील गरेका छन्। राहत, स्वास्थ्य सेवा र आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ नगर्न उनले आग्रह गरेका छन्।
साथै, प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन र राहत तथा पुनःस्थापनाका कार्यहरू समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समिति र संगठनलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको प्रचण्डले बताएका छन्।