रौतहट २१ गते । माधव नारायण नगरपालिका, रौतहटको प्रमुख प्रशासकीय भवनको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको नगर प्रमुख बैद्यनाथ यादवले जानकारी दिनुभएको छ। लामो समयदेखि नगरवासीको प्रतीक्षामा रहेको यो भवन सञ्चालनमा आएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र पारदर्शी हुने उहाँले बताउनुभयो।
नगर प्रमुख यादवका अनुसार आधुनिक र सुविधा सम्पन्न यस प्रमुख प्रशासकीय भवनले नगरपालिकाको प्रशासनिक संरचनालाई थप सुदृढ बनाउनेछ। हाल विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदै आएका सेवा अब एकै छानामुनि उपलब्ध हुने भएपछि सेवाग्राहीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले नयाँ भवन सञ्चालनमा आएपछि जन्मदर्ता, नागरिकता सिफारिस, कर संकलन, योजना तथा विकाससम्बन्धी सेवा लगायत नगरपालिकाका सम्पूर्ण सेवा–सुविधा सहज रूपमा एकै स्थानबाट प्रदान गरिने जानकारी दिनुभयो। यसले सेवाग्राहीको समय बचत हुनुका साथै अनावश्यक झन्झटसमेत कम हुने उहाँको भनाइ छ।
भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाको प्रशासनिक क्षमता अभिवृद्धि हुने, सेवाग्राहीमैत्री वातावरण सिर्जना हुने र स्थानीय सरकार जनताको अझ नजिक पुग्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। नगरवासीहरूले यो भवनले नगरपालिकाको सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने अपेक्षा समेत गरेका छन्।