३५औँ प्याब्सन दिवसमा श्रमिक पृष्ठभूमिबाट MBBS छात्रवृत्ति जित्ने सत्य नारायण साफी सम्मानित

tejnewskhabar.com

काठमाडौं, पुस २५ गते — ३५औँ प्याब्सन दिवस (PABSON Day) को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा आयोजित कार्यक्रममा सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२ निवासी सत्य नारायण साफीलाई सम्मान गरिएको छ।

मजदुरी गर्दै अध्ययन अघि बढाएका साफी MBBS पूर्ण छात्रवृत्ति परीक्षामा नाम निकाल्न सफल भएपछि कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शम्भु शाहको पहलमा उनलाई नगद रु. ५० हजारप्रशंसा–पत्र प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै समाजसेवी शाहले आर्थिक अभाव र सामाजिक कठिनाइका बाबजुद शिक्षा क्षेत्रमा संघर्षरत विद्यार्थीहरू अझै पनि अपवादकै रूपमा सफल हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै, साफीको सफलता व्यक्तिगत मेहनतको परिणाम भए पनि राज्यको संरचनागत असफलतालाई यसले उजागर गर्ने बताए।

प्याब्सनले यस्ता उदाहरणहरू प्रेरणादायी भए पनि गरिब तथा श्रमिक परिवारका विद्यार्थीहरूले शिक्षा पाउन अझै पनि असमान संघर्ष गर्नुपर्ने यथार्थ परिवर्तन नभएको स्वीकार गरेको छ।

सम्मान प्राप्त गर्दै साफीले आफूजस्ता पृष्ठभूमिका विद्यार्थीहरूका लागि निरन्तर सहयोग र अवसर विस्तार आवश्यक रहेको धारणा राखेका थिए।



प्रतिक्रिया