राष्ट्रिय एकता, शान्ति र स्वच्छ निर्वाचनको आह्वान : प्रधानमन्त्री शुशिला कार्की

tejnewskhabar.com

 काठमाडौँ १५ गते पुस। छ्याजलो सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको उल्लेख गर्दै सरकारले तमु ल्होसारजस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र एकताको भावना बलियो बनाउने बताएको छ। तमु ल्होसारको अवसरमा टुँडिखेल, काठमाडौँमा आयोजित कार्यक्रममार्फत शुभकामना सन्देश दिँदै सरकारले यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउने र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउने उल्लेख गरेको छ।

घोडा वर्गको नयाँ वर्षको शुभारम्भसँगै शक्ति, साहस, गति र कर्मठपनाको प्रतीकलाई आत्मसात् गर्दै देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ। नेपाली समाज जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि आपसी सहकार्य र संवादमार्फत समाधान खोज्न सक्षम रहेको विश्वास व्यक्त गरिएको छ।

सरकारले पछिल्ला परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक मार्गमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणको दिशामा अघि बढिरहेको जनाएको छ। यसका लागि स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि देशभर सकारात्मक वातावरण बन्दै गएको उल्लेख गर्दै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेको जनाइएको छ। यसलाई निर्वाचन सम्पन्न गर्ने दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ।

सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गर्दै यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ।

मुलुकले अब अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको उल्लेख गर्दै शान्ति, एकता र समृद्धिको मार्गमा सबै मिलेर अघि बढ्नुपर्नेमा सरकारको जोड रहेको छ।

प्रतिक्रिया