जनकपुर २९ गते । धनुषा जिल्लाको महेन्द्रनगरमा आम जनता पार्टी (आजपा) को विशेष भेला आज भव्य रूपमा सम्पन्न भएको छ।
भ्रष्टाचारीविरुद्ध कडा खबरदारी गर्दै लघुवित्त पीडितलाई न्याय दिलाउने दृढ संकल्पका साथ आयोजित उक्त भेलालाई पार्टीले ऐतिहासिक भेलाका रूपमा उल्लेख गरेको छ।
भेलामा न्यायप्रेमी जनताको उपस्थितिमा नेपाल सद्भावना पार्टी आम जनता पार्टीमा एकताबद्ध भएको औपचारिक घोषणा गरिएको छ। साथै विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौंको संख्यामा नेता–कार्यकर्ता आजपामा प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टी प्रवेश तथा एकतामा सहभागी सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत, सम्मान, बधाई तथा उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले आजपाले जनताको न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको संघर्षलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याउनुभयो।
भेलाले आजपा जनताको आवाज बोकेको पार्टीको रूपमा थप बलियो बन्दै गएको सन्देश दिएको सहभागीहरूको भनाइ छ।