महोत्तरी १० गते पुस — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेलले तुलनात्मक रूपमा संगठन कमजोर मानिँदै आएको महोत्तरी जिल्लाको क्षेत्रीय अधिवेशनमा सहभागी हुन पाउँदा पार्टी उत्साहित भएको बताएका छन्।
अध्यक्ष लिङ्गदेलको उपस्थितिमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताले राप्रपामा प्रवेश गरेका छन्। यस घटनाले महोत्तरीमा पार्टीको संगठन विस्तार र जनआधार मजबुत बन्दै गएको संकेत दिएको राप्रपाका नेताहरूले बताएका छन्।
पार्टी नेतृत्वका अनुसार भोलि सर्लाही जिल्लाको कौडेनामा आयोजना हुने कार्यक्रममार्फत नवप्रवेशी सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गरिनेछ। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
राप्रपाले पछिल्लो समय तराई–मधेश क्षेत्रमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा अधिवेशनहरू सञ्चालन गर्दै आएको छ।