जनकपुरधाम १५ गते । मन्त्रालयको भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् मंगलबार वा बुधबारसम्म विस्तार हुने सम्भावना देखिएको छ। सात दलीय गठबन्धनबीच सहमति नजुट्दा २६ दिनसम्म सरकार अपूर्ण रहेकामा मंगलबार बिहान ६ दलीय गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट टुंग्याइने बताइएको छ।
जसपा नेपाल–लोसपा एकीकरणपछि ठूलो दल बनेको जसपा नेपालले तीन मन्त्रालयमा दाबी गरेको छ भने नेपाली कांग्रेसले पनि तीन मन्त्रालय मागेको छ। नेपाल कम्युनिष्ट पार्टी र जनमत पार्टीले आ–आफ्नो दुई मन्त्रालयको दाबी गरेका छन्।
११ मन्त्रालयमध्ये हाल ५ मन्त्री मात्र नियुक्त छन् र बाँकी ६ मन्त्रालय मुख्यमन्त्री कृष्णप्रसाद यादवकै जिम्मेवारीमा छन्। मुख्यमन्त्री यादवले आज–भोलिसम्म प्रदेश सरकारलाई पूर्णता दिने चाहना व्यक्त गर्नुभएको छ।
१५ पुस २०८२, मङ्गलबार ०७:५१ मा प्रकाशित