काठमाडौं, २२ पुस । प्रहरी हिरासतमा रहेका दलित युवक गुरु चरण चमारको मृत्यु घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै चमार कल्याण समाज नेपालले निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ।
समाजले राष्ट्रिय दलित आयोगमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रहरी हिरासतमा भएको भनिएको कुटपिट तथा यातनाका कारण गुरु चरण चमारको मृत्यु भएको आशंका व्यक्त गरेको छ। प्राप्त जानकारीअनुसार मृतक चमारमाथि कुनै ठोस प्रमाण बिना जबरजस्ती कागज गराइएको, हिरासतमा अमानवीय व्यवहार गरिएको र त्यसकै कारण ज्यान गएको दाबी गरिएको छ।
घटनाले दलित समुदायको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै समाजले यसलाई सामान्य मृत्युका रूपमा ढाकछोप गर्न खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। मानवअधिकार, विधिको शासन र संविधानले प्रत्याभूत गरेको जीवनको अधिकारको ठाडो उल्लङ्घन भएको समाजको ठहर छ।
चमार कल्याण समाज नेपालले
- घटनाको स्वतन्त्र तथा सूक्ष्म छानबिन उच्चस्तरीय न्यायिक आयोगबाट गरिनुपर्ने,
- संलग्न दोषी प्रहरी कर्मचारीमाथि कडा कानुनी कारबाही हुनुपर्ने,
- पीडित परिवारलाई उचित क्षतिपूर्ति, उपचार र कानुनी सहायता उपलब्ध गराइनुपर्ने,
- प्रहरी हिरासतमा हुने यातना र झुटा मुद्दाको अन्त्य गर्न कानुनी तथा संस्थागत सुधार गर्नुपर्ने माग अघि सारेको छ।
यदि न्याय सुनिश्चित नगरिए देशव्यापी आन्दोलन, सडक संघर्ष र अन्तर्राष्ट्रिय मानवअधिकार निकायमा मुद्दा लैजाने चेतावनी समेत समाजले दिएको छ।
“न्याय नपाएसम्म संघर्ष जारी रहनेछ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।