रौतहट १६ गते । रौतहट जिल्लाका केही सामाजिक सञ्जालमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. फिर्दोष आलमज्यूको नाम जोडेर अनावश्यक, भ्रामक तथा गैरकानुनी तरिकाले तयार पारिएको भिडियो सामग्री फैलाइएकोप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसका अनुसार यस्ता भ्रामक सामग्रीहरू पूर्णतः विपक्षीको षड्यन्त्र हुन् र ती सामग्रीको कुनै पनि सत्यता छैन। समाजमा भ्रम फैलाउने उद्देश्यले सुनियोजित रूपमा यस्ता आधारहीन भिडियोहरू प्रचार–प्रसार गरिएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ।
यस सम्बन्धमा नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख विदेश कुमार गुप्ताले पत्रकार मित्रहरू तथा सरोकारवाला सबैको विशेष ध्यानाकर्षण गराउँदै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको मर्यादा कायम राख्न आग्रह गर्नुभएको छ। उहाँले गलत, असत्य र समाजमा भ्रम सिर्जना गर्ने सामग्रीको प्रचार नगर्न सबै पक्षलाई सचेत रहनसमेत अनुरोध गर्नुभएको छ।