शान्ति, स्थायित्व र समृद्धिका लागि निजी–सरकारी सहकार्य अपरिहार्य : प्रधानमन्त्री कार्की

tejnewskhabar.com

काठमाडौँ, १८ गते पुष । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री सुशील कार्कीको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघले “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सामूहिक पहल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव नेपाल, नेपाली कांग्रेसका प्रवक्ता प्रकाश महतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, मन्त्रीहरू, युवा प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा देशको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौतीहरू तथा समाधानका उपायबारे खुला र सार्थक छलफल गरिएको थियो। सहभागीहरूले शान्ति र राजनीतिक स्थायित्वबिनाको समृद्धि सम्भव नहुनेमा साझा धारणा व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रमैत्री वातावरण निर्माण, लगानी संरक्षण, निर्वाचनमार्फत राजनीतिक स्थायित्व कायम गर्ने र व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उहाँको प्रतिबद्धतालाई निजी क्षेत्रका प्रतिनिधिहरूले सकारात्मक संकेतका रूपमा लिएका छन्।

कार्यक्रममा निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको तथ्य प्रस्तुत गरियो। हाल निजी क्षेत्रबाट ८१ प्रतिशत आर्थिक योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना भइरहेको उल्लेख गर्दै अब नीतिगत प्रतिबद्धता व्यवहारमा उतार्नुपर्नेमा जोड दिइयो।

सहभागीहरूले शान्ति, स्थायित्व र निजी क्षेत्रमैत्री नीतिबाट मात्रै रोजगारी सिर्जना, लगानी विस्तार र समुन्नत नेपालको लक्ष्य हासिल गर्न सकिने निष्कर्ष निकाले।

प्रतिक्रिया