काठमाडौँ १६ गते । नेपाल सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शान्ति र स्थायित्व कायम गर्दै समृद्ध नेपाल निर्माणका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र युवा पुस्ता एकै ठाउँमा उभिएर साझा प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री कार्कीले उद्यमी–व्यवसायीको सुरक्षा, सम्पत्तिको हक तथा निर्बाध पेसा–व्यवसायको प्रत्याभूति सरकारको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयो। उहाँले संवाद, संयम र जिम्मेवार आचरणबाट मात्रै समृद्ध नेपाल सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँका अनुसार निष्पक्ष र सफल निर्वाचनले राजनीतिक स्थायित्व, दिगो लोकतन्त्र र विधिको शासन सुनिश्चित गर्नेछ। त्यसैले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउँदै निर्वाचन सफल पार्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको जनाउँदै देशको भविष्यका लागि एकताबद्ध प्रयासको आह्वान गर्नुभएको छ।