रौतहट, २४ गते — नेपाली दलित राजनीतिमा सक्रिय रौतहटका नेता धर्मेन्द्र पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करणविरुद्ध आवाज उठाउँदै आफ्नो जीवन राजनीति र जनसेवामा समर्पित गर्दै आउनुभएको छ।
रौतहट परोहा नगरपालिका–३ निवासी धर्मेन्द्र पासवानले राजनीति शास्त्रमा स्नातक (बी.ए.) अध्ययन गर्नुभएको छ। उहाँ २०५२ सालदेखि नेपाली कांग्रेसको क्रियाशील राजनीतिमा आबद्ध रहँदै आउनुभएको छ। लोकतन्त्र र सामाजिक न्यायका लागि भएको आन्दोलनका क्रममा २०४२ साल र २०६२ सालमा उहाँ प्रहरी हिरासतमा समेत बस्नुभएको थियो।
साधारण परिवारमा जन्मिएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गर्नुभयो। यही अनुभवले उहाँलाई पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हक–अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर संघर्षरत बनाएको छ।
समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप धर्मेन्द्र पासवानले अन्तर्राष्ट्रिय स्तरका समाजसेवा पुरस्कार तीन पटक प्राप्त गरिसक्नुभएको छ। हाल उहाँ केन्द्रीय दलित संघको महासचिवको जिम्मेवारीमा रहेर दलित समुदायका मुद्दा राष्ट्रिय राजनीतिमा सशक्त रूपमा उठाउँदै आउनुभएको छ।
नेपाली कांग्रेसभित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा दलित समुदायको राजनीतिक सशक्तीकरणमा उहाँको सक्रिय भूमिका उल्लेखनीय मानिन्छ।
५४ वर्षको उमेरमा महत्वपूर्ण राजनीतिक अवसर प्राप्त गर्दासमेत उहाँको जीवनशैली सरल, अनुशासित र जनमुखी नै रहेको स्थानीयवासीहरू बताउँछन्।
आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ। “उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी” उहाँको जीवन दर्शनजस्तै बनेको छ।
राजनीतिक यात्रामा अनेक उतार–चढाव र चुनौतीहरू सामना गरे पनि धर्मेन्द्र पासवान कहिल्यै आफ्नो मूल उद्देश्यबाट विचलित हुनुभएन। आज प्राप्त अवसरलाई उहाँ व्यक्तिगत उपलब्धिभन्दा पनि दलित समुदायका लागि आशा र उत्साहको क्षणका रूपमा लिनुहुन्छ।
यसैबीच, मधेस प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारका रूपमा नेपाली कांग्रेसका युवा नेता धर्मेन्द्र पासवान गठबन्धनको तर्फबाट धर्मेन्द्र पासवानले २३ गते औपचारिक रूपमा उम्मेदवारीसमेत दर्ता गराइसक्नुभएको छ।
धर्मेन्द्र पासवानको जीवन संघर्षले स्पष्ट सन्देश दिन्छ—राजनीति पदको खोजी होइन, उद्देश्यको निरन्तर यात्राको नाम हो। साधारण परिवारबाट उठेर त्याग, इमानदारी र प्रतिबद्धतामार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण उहाँले स्थापित गर्नुभएको छ।