नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले धन्यवाद सहित व्यक्त गरे आभार, मधेस प्रदेश सभाबाट सर्वसम्मत समर्थन

tejnewskhabar.com

जनकपुरधाम ०५  गते । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेस प्रदेश सभापति माननीय कृष्ण प्रसाद यादवले मधेस प्रदेश सभाबाट प्राप्त १०० प्रतिशत सर्वसम्मत समर्थनप्रति गहिरो आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। प्रदेश सभाबाट सर्वसम्मत रूपमा प्राप्त यस ऐतिहासिक समर्थनले मधेस प्रदेशको लोकतान्त्रिक अभ्यास, राजनीतिक परिपक्वता र प्रदेशको समग्र हितप्रतिको साझा प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको उहाँको धारणा छ।

मुख्यमन्त्री यादवले यस महत्वपूर्ण अवसरमा मधेस प्रदेशका सबै राजनीतिक दल, आदरणीय राजनीतिक नेतृत्व, तथा प्रदेश सभाका माननीय सदस्यज्यूहरूलाई धन्यवाद दिँदै आपसी समझदारी, सहकार्य र एकताको संस्कारलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। राजनीतिक मतभेदका बाबजुद प्रदेशको विकास, स्थायित्व र जनताको हितलाई सर्वोपरि राखेर गरिएको एकमत निर्णय मधेस प्रदेशका लागि प्रेरणादायी उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो।

उहाँका अनुसार प्रदेश सभाबाट प्राप्त यो विश्वास र समर्थनले सरकारलाई समावेशी विकास, प्रभावकारी सुशासन र दिगो समृद्धिको दिशामा दृढताका साथ अघि बढ्न थप ऊर्जा र आत्मबल प्रदान गरेको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक न्यायका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री यादवले सबै राजनीतिक दल, नागरिक समाज र आम जनताको साथ, सहयोग र सहकार्यमा मधेस प्रदेशलाई विकास र स्थायित्वको मार्गमा अघि बढाइने स्पष्ट गर्नुभएको छ।

मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै उहाँले मधेस प्रदेशलाई सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीको नमुना बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको छ

प्रतिक्रिया