केन्द्रीय कार्यसम्पादन समितिमा फरक मत राख्दै गगन थापाको कडा उद्घोष विशेष महाधिवेशन कुनै हालतमा तोकिएकै मितिमै हुन्छ

tejnewskhabar.com

काठमाडौं१९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्पष्ट फरक मत राख्दै विशेष महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा सम्पन्न हुने ठोकुवा गर्नुभएको छ। पार्टीभित्र महाधिवेशनको मिति र प्रक्रियाबारे उठिरहेका विभिन्न मत–मतान्तरका बीच महामन्त्री थापाले विधान, संस्थागत निर्णय र पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने धारणा राख्नुभएको हो।

बैठकमा बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशन पार्टीको आवश्यकता र निर्णयअनुसार तय भइसकेको विषय भएकाले त्यसलाई सार्ने वा अन्य बहानामा टार्ने कार्यले पार्टीलाई झनै कमजोर बनाउने चेतावनी दिनुभयो। उहाँले “पार्टी विधानभन्दा माथि कोही छैन, महाधिवेशनको निर्णय पार्टीकै आधिकारिक निकायबाट भइसकेको छ, त्यसैले विशेष महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ” भन्ने स्पष्ट अडान राख्नुभएको बताइएको छ।

महामन्त्री थापाले पार्टी नेतृत्वले समयमै महाधिवेशन गराएर संगठनात्मक स्पष्टता दिनुपर्नेमा जोड दिँदै महाधिवेशन ढिलाइ हुँदा कार्यकर्ता तहमा निराशा बढ्ने र पार्टीको विश्वसनीयतामा असर पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कांग्रेसलाई विधिसम्मत, पारदर्शी र लोकतान्त्रिक ढंगले अघि बढाउन महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

बैठकमा केही नेताहरूले परिस्थितिजन्य कारण देखाउँदै महाधिवेशनको मिति पुनर्विचार गर्नुपर्ने सुझाव राखे पनि महामन्त्री थापाले त्यसप्रति असहमति जनाउँदै फरक मत दर्ता गराउनुभएको स्रोतले जनाएको छ। उहाँको भनाइमा पार्टीभित्र सहमति खोज्नु स्वाभाविक भए पनि विधि र निर्णयभन्दा बाहिर गएर कुनै सम्झौता गर्न नहुने स्पष्ट सन्देश दिइएको थियो।

महामन्त्री थापाको यस अडानलाई पार्टीभित्र सुधार र समयमै नेतृत्व परीक्षणको पक्षमा उभिएको सशक्त संकेतका रूपमा हेरिएको छ। विशेष महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र बढ्दो बहसका बीच उहाँको यो स्पष्ट उद्घोषले आगामी दिनमा पार्टीभित्रको राजनीतिक समीकरण थप चर्किने संकेतसमेत देखिएको छ।



प्रतिक्रिया