काठमाडौँ, २७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री गगनप्रसाद थापाले पार्टीभित्र लामो समयदेखि चल्दै आएको केन्द्रीकृत र आदेशमुखी सञ्चालन शैली आजबाट अन्त्य भएको घोषणा गरेका छन्। उनले अब कुनै पनि नेताले पार्टीका साधारण सदस्यलाई हेप्न नसक्ने स्पष्ट सन्देश दिए।
थापाले भने, “लामो समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका रहँदै आएको थियो, आजबाट त्यो भत्किएको छ। अब भोलि जो–सुकै आए पनि पार्टीका सदस्यलाई कसैले हेप्न सक्दैन।” उनले पार्टीभित्रको शक्ति सन्तुलन परिवर्तन भएको उल्लेख गर्दै तल बस्ने कार्यकर्तालाई माथि बस्ने नेतृत्वले निहुरिएर सम्मान गर्नुपर्ने समय आएको बताए।
महाधिवेशन प्रतिनिधिहरूको आवाजलाई सम्बोधन गर्दै थापाले नीति र नेतृत्व दुवै परिवर्तनको माग जायज भएको बताए। “तपाईंहरूले नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग गर्नुभएको छ,” उनले भने, “यहाँ कुनै ‘बा’ छैन, जसले नबोल भन्यो भन्दैमा बोल्न छोड्ने कोही पनि छैन।”
देशप्रति कांग्रेसको जिम्मेवारी स्मरण गराउँदै थापाले जनतालाई पुनः भरोसा दिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले संघर्षको राजनीति सहज नहुने उल्लेख गर्दै भने, “कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्न पनि तयार हुनुपर्छ। हामी लडाइँ हार्न पनि तयार छौँ, तर देश र लोकतन्त्रका लागि संघर्ष छोड्दैनौँ।”
गगन थापाको यस अभिव्यक्तिलाई महाधिवेशनमा उपस्थित नेता–कार्यकर्ताहरूले पार्टी रूपान्तरणको स्पष्ट संकेतका रूपमा लिएका छन्। विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्र सुदृढ गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गर्ने अपेक्षा गरिएको छ।