बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा सिरहामा आक्रोशपूर्ण प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

tejnewskhabar.com

सिरहा, पुस ०६ — बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको तथा मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको कडा विरोधमा सिरहामा प्रदर्शन गरिएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि निरन्तर भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बाल्दै नाराबाजी गरेका थिए। उनीहरूले बंगलादेशमा अल्पसंख्यक समुदायको जीउधनको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्ने मागसमेत गरेका छन्।

प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू दुवै दिशामा रोकिएका थिए भने यात्रुहरू समस्यामा परेका थिए।

प्रदर्शनकारीहरूले बंगलादेश सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही तथा अल्पसंख्यक हिन्दु समुदायको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। अवस्था तनावग्रस्त बन्न सक्ने देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रतिक्रिया