काठमाडौँ | माघ २ २०७२ सालको विनाशकारी भूकम्पपछिका अनुभव स्मरण गर्दै काठमाडौं महानगरपालिकाका प्रमुखले भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
सिभिल इन्जिनियरका रूपमा काभ्रेमा करिब २ हजार ५ सय घर निर्माणदेखि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभव सुनाउँदै उनले नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सुरक्षित नबन्ने स्पष्ट पारे।
उनले भूगोल र जनताको समन्वित विकास नै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै सुरक्षित राष्ट्रका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिकता र आधुनिकताको सामञ्जस्य, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य रहेको बताए।
अध्ययनका क्रममा भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उल्लेख गर्दै उनले अहिले नागरिकको विश्वासका कारण काठमाडौं महानगरको नेतृत्व गरिरहेको बताए।
महानगरपालिकाले शब्दभन्दा कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रमुखले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात गरेको दाबी गरे। महानगरबाट सुरु भएका यी सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनले बताए।
नेपालको विकास भनेको सडक, भवन र ठूला संरचना मात्र नभई सुरक्षित संरचना, जनताको आशा र देशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउने वातावरण निर्माण गर्नु भएको उनको भनाइ छ।
उनले अब देशलाई लोकप्रिय नारा होइन, दीर्घकालीन सोच र जनताको विश्वास जित्ने शासन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको स्पष्ट पारे।
सबैको साथ, सहयोग र विश्वासका साथ राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको भन्दै उनले सन्देश टुंग्याएका छन्।