काठमाडौं १० गते पुस। समुदायबाट जनस्वास्थ्यका घटना तथा रोगबारे समयमै सूचना प्राप्त गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यले “समुदायमा आधारित रोग निगरानी प्रणाली” को औपचारिक शुभारम्भ माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले एक कार्यक्रमबीच गर्नुभएको छ।
उक्त अवसरमा यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तयार पारिएको “समुदायमा आधारित रोग निगरानी निर्देशिका–२०८२” पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा मन्त्रालय तथा विभागका उच्च अधिकारीहरू, सातै प्रदेशका स्वास्थ्य सचिव तथा निर्देशकहरू, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरू तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संक्रामक रोगहरूको सम्भावित प्रकोपलाई समयमै न्यूनीकरण गर्ने लक्ष्यसहित सुरु गरिएको यस प्रणालीअन्तर्गत अब आम नागरिकले आफ्नै समुदायमा कुनै पनि अनपेक्षित जनस्वास्थ्य घटना देखिएमा वा जानकारी पाएमा तुरुन्त सूचना दिन सक्नेछन्। यदि एकैपटक धेरै व्यक्ति बिरामी परेमा, नौलो वा अज्ञात रोग देखिएमा, पशु–पंक्षीको अस्वाभाविक मृत्यु भएमा, वा ज्वरो, झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी समस्या आम रूपमा देखिएमा नि:शुल्क हटलाइन ‘हेलो स्वास्थ्य १११५’ मा फोन गर्न वा नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न मन्त्रालयले आग्रह गरेको छ।
यसरी समुदायबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रतिकार्य गरी सम्भावित महामारीको रोकथाम गर्न तथा जनधनको क्षति हुनबाट जोगिन यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।