पूर्ण समानुपातिक निर्वाचन र संविधान संशोधनका लागि जसपा र स्वाधीन मधेश जनअभियानबीच सहमति

tejnewskhabar.com

काठमाडौँ, पौष ०९ — जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना, संविधान संशोधन तथा संघीय शासन प्रणाली सुदृढीकरणका लागि संयुक्त संघर्ष गर्ने सहमति भएको छ।

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोमबार दुवै पक्षबीच भएको छलफलपछि आठबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिमा दुवै पक्षले सहमत भएका एजेन्डाहरू कार्यान्वयन गर्न संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहमति अनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गरिनेछ भने स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने निर्वाचन प्रणाली दलविहीनताको आधारमा लागू गर्नुपर्ने विषयमा पनि संघर्ष जारी राखिनेछ।

साथै, वर्तमान संविधान अधुरो, अपूरो तथा विभेदकारी रहेको उल्लेख गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखन गर्न दबाबमूलक संघर्ष गर्ने सहमति भएको छ। नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पहिचानसहितको राज्य–राष्ट्र (State-Nation) का रूपमा स्थापित गर्न दुवै पक्षले साझा एजेन्डा अघि बढाउनेछन्।

मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई अझ मजबुत बनाउँदै प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने तथा मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक र पिछडावर्गको अधिकार, पहिचान र समानताका लागि निरन्तर संघर्ष गर्ने सहमतिमा उल्लेख छ।

त्यसैगरी, राज्यका सम्पूर्ण तह, संरचना र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

दुवै पक्षबीच हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने र भविष्यमा आवश्यकताअनुसार संगठनात्मक एकतासमेत गर्न सकिने सहमति भएको छ।

सहमति पत्रमा स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतो र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया