जनकपुरधाम, २१ पुस । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले प्रदेशवासीका नाममा अपिल जारी गर्दै सामाजिक सद्भाव, आपसी सम्मान र शान्ति कायम राख्न सबैलाई संयमित रहन आग्रह गर्नुभएको छ।
अपिलमा मधेश प्रदेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको साझा भूमि रहेको उल्लेख गर्दै यहाँका नागरिकले ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्य–मान्यतालाई आत्मसात गर्दै आएको प्रदेश प्रमुख कर्णले बताउनुभएको छ।
हालै केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता क्रियाकलापले सदियौँदेखिको सामाजिक एकता र भाइचारामा आँच पुर्याउने चेतावनी दिनुभएको छ। समाजलाई विभाजन गर्ने तत्वहरूबाट सजग रहन र कुनै पनि प्रकारको उक्साहट वा आवेगमा नआउन प्रदेशवासीलाई आग्रह गरिएको छ।
प्रदेश प्रमुख कर्णले विचार र आस्थामा भिन्नता हुन सक्ने भए पनि मानविय पहिचान र सामाजिक एकता साझा भएको उल्लेख गर्दै कसैको भावना चोट पुग्ने कार्य नगर्न तथा समाजमा शान्ति र अमनचयन कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
अपिलमा संवाद र सहकार्यबाट नै सबै समस्याको समाधान सम्भव हुने उल्लेख गर्दै मधेश केवल विविधताको भूमि मात्र नभई एकता, प्रेम, शान्ति र सद्भावको प्रतीक भएको सन्देश दोहोर्याइएको छ।