काठमाडौं, २१ पुस । नेपाल सरकार गृह मन्त्रालयले देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। पछिल्लो समय तराई–मधेसका केही जिल्लामा देखिएका धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुर्याउने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले दोषीमाथि कडा कारबाही अघि बढाइएको जनाएको छ।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएकाले संविधानअनुसार नागरिकको धार्मिक स्वतन्त्रता र सहिष्णुताको उच्च सम्मान गरिँदै आएको उल्लेख छ। तर सामाजिक सञ्जालको दुरुपयोग गर्दै कानुनले निषेध गरेका घृणास्पद, उत्तेजक तथा भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्याउने कार्यप्रति मन्त्रालय गम्भीर रहेको जनाएको छ।
विज्ञप्तिअनुसार माननीय गृहमन्त्रीको अध्यक्षतामा २०८२ पुस २० गते विभिन्न समुदायसँग समन्वयात्मक बैठक, केन्द्रीय सुरक्षा समितिको बैठक तथा तराई–मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरी शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न संयमता, सजगता र सतर्कता अपनाउने निर्णय गरिएको छ।
गृह मन्त्रालयले धनुषा जिल्लासहित विभिन्न स्थानमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय तथा धर्म लक्षित अवैध गतिविधि, आपसी सद्भाव बिगार्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
त्यस्तै, विभिन्न जातजाति, धर्म र सम्प्रदायबीच द्वेष फैलाउने, गाली–बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन दिने तथा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने अभिव्यक्तिलाई दण्डनीय अपराधका रूपमा कानुनले व्यवस्था गरेको स्मरण गराउँदै गृह मन्त्रालयले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।
कसैले पनि कानुनविपरीतका कार्य गरेमा जहाँसुकै रहे पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै गृह मन्त्रालयले सामाजिक सद्भाव, शान्ति र अमन–चैन कायम राख्न सबै नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सञ्चार माध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।