संस्थापनसँग सहमति जुटेन, नेतृत्व चयनतर्फ गगन–विश्व; निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

tejnewskhabar.com

काठमाडौँ — संस्थापन पक्षसँगको वार्ता सहमतिमा नपुगेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडि बढ्ने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समूहले अब प्रत्यक्ष निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको हो।

संस्थापन पक्षका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक लगायतसँग मंगलबार बिहानैदेखि भएको वार्ता सहमतिउन्मुख हुन नसकेपछि विशेष महाधिवेशन सचिवालय निर्वाचन कार्यतालिका ल्याउने निष्कर्षमा पुगेको हो।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले सोमबार नै वर्तमान केन्द्रीय समिति विघटन गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरिसकेको छ। यससँगै नेतृत्व चयनको बाटो औपचारिक रूपमा खुला भएको छ।

विशेष महाधिवेशन पक्षधरका तर्फबाट नेताहरू प्रदीप पौडेल, देवराज चालिसे, गुरु घिमिरे र मधु आचार्य संस्थापन पक्षसँगको वार्तामा सहभागी भएका थिए। तर, वार्ता कुनै ठोस निष्कर्षमा नपुगी फेरि बस्ने सहमतिसहित टुंगिएको बताइएको छ।

संस्थापनसँग सहमति जुट्न नसकेपछि विशेष महाधिवेशन सचिवालयले दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी आगामी निर्वाचन कार्यतालिका र प्रक्रियाबारे औपचारिक जानकारी गराउने तयारी गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि कांग्रेसभित्रको शक्ति सन्तुलन अब निर्वाचनमार्फत परीक्षण हुने संकेत देखिएको छ। विशेष महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्ने निर्णायक मोड लिएको उनीहरूको भनाइ छ।



प्रतिक्रिया