सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले सुरु गरेको ‘घर फिर्ती अभियान’ प्रभावकारी बन्दै जाँदा अन्य ठूला–साना दल परित्याग गरी जसपा नेपाल प्रवेश गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। साथै, विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्ताहरू पनि पुनः धमाधम पार्टीमा फर्किन थालेका छन्।
यसैक्रममा मंगलबार नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्। सप्तरी क्षेत्र नं. ३ मा चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिइरहनु भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितका नेताहरूलाई गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभएको हो।
यसअघि जसपा नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएकी चौधरी पार्टी विभाजनका क्रममा जसपा परित्याग गरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुभएको थियो। उहाँ थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ, मधेश प्रदेशकी उपाध्यक्षसमेत हुनुहुन्छ।
त्यसैगरी हिजो साँझ कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थारु नेता गोपाल प्रसाद चौधरी पनि जसपा नेपालमा प्रवेश गर्नुभएको छ। साथै युवा नेता शिवशंकर यादव ‘शिवम’को पनि जसपा नेपाल प्रवेश भएको छ। पार्टी विभाजनका बेला उहाँ अशोक राई नेतृत्वको जसपामा आवद्ध हुनुभएको थियो।
जसपा नेपालले अभियानमार्फत संगठन सुदृढ गर्दै मधेश केन्द्रित राजनीति थप मजबुत बनाउने रणनीति लिएको पार्टी नेताहरूले बताएका छन्।