मजनकपुरधाम, २०८२ माघ १० गते – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा माननीय मन्त्री डा. सुधा शर्मा गौतम को अध्यक्षतामा सातै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायबीच “स्वास्थ्य बीमा सुदृढीकरण तथा समन्वय बैठक” सम्पन्न भएको छ।
बैठकमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरू, साथै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
मुख्य छलफलको विषय स्वास्थ्य बीमा कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय सरकारको सक्रिय सहभागिता सुनिश्चित गर्ने र स्वास्थ्य सेवा प्रवाहमा देखिएको दोहोरोपन हटाउने रहेको थियो। बैठकको एजेन्डा विशेष गरी स्वास्थ्य बीमा ऐनको दफा २७ बमोजिम तीनै तहका सरकारले बीमा कोषमा योगदान गर्ने र कार्यक्रमलाई वित्तीय रूपमा दिगो बनाउने उपायहरूमा केन्द्रित थियो।
सहभागीहरूले कोषको परिचालन, दोहोरो सुविधाको अन्त्य, सेवाको गुणस्तर सुधार र नागरिकको पहुँच विस्तार गर्ने रणनीतिबारे आफ्ना धारणा राखे। छलफलको निष्कर्षअनुसार, माननीय मन्त्री डा. सुधा शर्मा गौतम, सचिव डा. विकास देवकोटा, सचिव डिल्लीराम शर्मा र सातै प्रदेशका सचिवहरूले स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी र व्यवस्थित बनाउन आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र प्रतिबद्धता जाहेर गरेका छन्।